संविधान लेखन प्रक्रिया अघि बढ्ने संकेत, शीर्ष नेता आन्तरिक छलफलमा

वैशाख ८,काठमाण्डौ – नयाँ संविधानको मुख्य विवादित मानिएको विषय संघीयताको बारेमा सहमति खोज्न शीर्ष नेताहरुबीच आजदेखि छलफल सुरु हुने भएको छ ।

हिजो बालुवाटारमा भएको सहमति अनुसार प्रमुख तीन दलका शीर्ष नेता आजबाट औपचारिक तथा अनौपचारिक छलफलमा जुट्ने एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला विदेशमा रहेका कारण उहाँको अनुपस्थितिमा वरिष्ठ नेता शेरबहादुर देउवाले शीर्ष छलफलमा सहभागिता जनाउने बताइएको छ ।
देउवाका साथै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताबीच आन्तरिक छलफलपछि संघीयतामा सहमतिका लागि खाका कोरिनेछ ।
संविधान लेखन प्रक्रिया सुरु गरेर संघीयताको बारेमा जारी विवाद मिलाउन छलफललाई पनि जारी राख्ने सहमति भएपछि आगामी असार मसान्तभित्रमा संविधान जारी गर्ने संभावना बढेको काङ्ग्रेस महामन्त्री तथा मस्यौदा समिति संयोजक कृष्ण सिटौलाको भनाइ छ ।
सहमति भइसकेका बिषय मस्यौदा लेखनका लागि पठाउने र बाँकी विषयमा छलफल गर्दै जाने सहमति हिजो प्रमुख तीन दलबीच भएको थियो ।
शासकीय स्वरुपमा फरक मत राखेर जान यसअघि नै सहमत भइसकेको एकीकृत माओवादी संघीयताको बारेमा छलफल जारी राख्ने गरी अघि बढ्न सहमत भएपछि संविधान लेखनको काम सुरु हुने संभावना बढेको हो