आज पनि न्यायाधीश नियुक्ति हुन सकेन

वैशाख ७,काठमाण्डौ – सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि आज बसेको न्यायपरिषद्को बैठक निष्कर्षविहीन भएको छ । नियुक्तिका विषयमा धेरै कुरा मिले पनि थप छलफल गर्नुपर्ने बताइएको छ । बैठक मङ्गलबार बसेर नियुक्त गर्ने सम्भावना रहेको न्यायपरिषद्का निमित्त सचिव कृष्ण गिरीले जानकारी दिनुभयो । अदालतमा न्यायाधीश नियुक्तिका लागि पटक पटक बैठक बस्दै आएको छ ।

बैठकमा प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष रामकुमारप्रसाद साह तथा सदस्यका रुपमा सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठ, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्य र परिषद् सदस्य खेमनारायण ढुङ्गाना हुनुहुन्थ्यो ।
अदालतमा संविधानअनुसार बढीमा १५ न्यायाधीश रहने प्रावधान छ । अहिले १२ मात्र न्यायाधीश हुनुहुन्छ । बाँकी न्यायाधीश नियुक्ति हुन नसक्दा आवश्यक न्याय सम्पादनमा ढिलाइ भइरहेको छ । न्यायायाधीश नियुक्तिका लागि यसअघि गत चैत २६ बसेको बैठक निष्कर्षविहीन भएको थियो ।