बेहुलो बन्दै ‘भद्रगोल’का ‘सिते बा’

काठमाण्डौ – ‘ए हो ठीकै छ ।’ लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलका सिते बा जहिले जुनसुकै अवस्थामा पनि यसै भनेर हैरान पार्छन् । सुखद अवस्थामा होस,चरम दुःख परेका बेलामा पनि यी सिते बाले ठाउँ न कुठाउँ ‘ए हो,ठीकै छ’ भनेर खित्तित्त हाँस्दै अरु पात्रलाई हैरान पार्छन् भने दर्शकलाई चाहिँ रमाइलो गराउँछन् ।

भद्रगोलका यी सिते बालाई चाहिँ बल्ल आएर अरुले ‘ए हो ठीकै छ’ भन्ने बेला आएको छ । किनभने यी तन्नेरी सिते बा बल्ल बिहे गर्दैछन् । उनी जसलाई बिहे गर्न लागेको खबर सुनाउँछन्,उनीहरुले सीतेबालाई उनकै शैलीमा ए बिहे पो गर्न लाग्या,ठीकै छ भनेर बदला नै लिए जसरी जिस्काउन थालेका छन् ।
सिरियलमा पाको वृद्द देखिने सिते बाको लालाबाला धेरै होलान्,यिनले त उहींले नै बिहे गरिसके होलान् भन्ने लाग्दो हो । तर यी सिते बा सिरियलमा जस्तो बुढो छैनन् । काभ्रपलाञ्चोक जिल्ला कोशीबेखा गाविस वडा नं. १ पिले डाँडा घर भइ हाल राजधानीको चण्डोलमा बस्दै आएका मधुसूधन पाठक नामधारी यी सिते बा वास्तविकतामा भने बल्ल २६ वर्ष पुगेका छन् । बिहे गर्ने सुरसार पनि बल्ल गर्दैछन् । मधुसूदनका लागि भद्रगोलकै निर्माता तथा एक कलाकार सुवास कार्की बेलासेले लमी बनेर केटी खोजिदिएपछि उनी आगमी बैशाख १६ गते विवाह बन्धनमा बाँधिन लागेका हुन् ।