बागमती सफाई अन्तर्गत आज कीतिर्तुरमा सरसफाई

बैशाख ५, काठमाण्डौ- एक सय हप्तासम्म चलाउने भनिएको वागमती नदी सरसफाई महाअभियानले निरन्तरता पाएको छ । आज १ सय १ औं हप्तामा कीतिर्तुरमा सरसफाई भैरहेको छ ।

एक सय हप्तासम्म वागमती नदी सरसफाई गरी पहिलाकै जस्तो सफा र स्वच्छ बनाउने लक्ष्य राखिएको अभियानमा आम नागरिकको चासो बढेकाले निरन्तरता दिइएको अभियन्ता एलपी शर्मा भानुले बताउनुभयो । उहाँले अबको एक दुई हप्तापछि अभियानले स्वरुप फेर्ने जानकारी दिनुभयो । उहाँका अनुसार अभियानले अब स्वरुप र कार्यक्षत्र फैलाउँदै अघि बढ्नेछ ।

२०७० साल जेठ ४ गते फुटबल खेलेर सुरु गरिएको अभियानमा ५ गते वागमती नदी सरसफाई गरिएको थियो । त्यसैदिनदेखि हरेक शनिबार विभिन्न ठाउँमा भेला भएर वागमती नदीको सरसफाई गरिन्छ । गएको शनिबार सय हप्ता पूरा गरेको अवसरमा बागमतीको मुहान सुन्दरीजलदेखि चोभारको सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रमा राजनीतिक दलका शीर्ष नेता, कर्मचारी र स्थानीयबासिन्दाको सहभागितामा मानव साङ्लो बनाइएको थियो ।