रुकुममा पनि अज्ञात रोगको लक्षण

बैशाख ४,रुकुम- रुकुमको चौखावाङ ५ हिलमा अज्ञात रोगका लक्षणहरु देखा परेपछि स्थानिय बासीहरु त्रसित भएका छन् । केही दिन देखी स्थानीय बासिन्दामा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिगाँटा लाग्ने, ज्वरो आउने, रुघा खोकी लाग्ने जस्ता लक्षण देखिएको स्थानिय बासिन्दा कर्ण वहादुर वुढाले जानकारी दिए ।
गाउँका करिब २० जनामा यस्ता लक्षणहरु देखापरेको र स्वास्थ्य चौकी चौखावाङमा सिटामोल बाहेक अन्य औषधि उपलब्ध नभएपछि उपचारमा समस्या भएको स्थानीय बासिन्दाले बताए ।एक्कासी विभिन्न लक्षण एकैपटक देखापरी गाउँले बिरामी परेपछि स्वाईनफ्लुको संक्रमण भएको हुनसक्ने भन्दै स्थानिय झनै त्रसित भएका छन् ।

जिल्ला अस्पतालबाट डा. मानबहादुर केसीको नेतृत्वमा ४ जनाको स्वास्थ्यकर्मीको टोली हिल गएको छ । सिकिस्त विरामीहरुलाई जुवाला प्राथमिक विद्यालय हिलमा ल्याएर उपचार गर्ने व्यवस्था मिलाइएको समेत डा.केसीले जानकारी दिनुभएको छ।स्थानियले आफुहरुको उपचारमा सहयोग गरिदिन जिल्ला स्वास्थ्य कार्यालय सहित सबैलाई आग्रह गरेका छन् ।यस्तै लक्षण देखा परेको रोगका कारण छिमेकी जिल्ला जाजरकोटमा शुक्रबार अपरान्हसम्म २१ जनाले ज्यान गुमाइसकेका छन् ।