एमालेले सरकार छाड्न सक्छ: उपाध्यक्ष भण्डारी

बैशाख ४, पोखरा – नेकपा (एमाले)की उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधान निर्माणमा ढिलासुस्ती हुन्छ भने एमालेले सरकार छाड्न सक्ने चेतावनी दिनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ कास्कीको दुई दिने सातौं जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले नयाँ संविधान निर्माणको जिम्मेवारी बोधका लागि मात्रै एमाले काँग्रेससँग सहकार्य गर्दै सरकारमा गएको बताउनुभयो ।
उपाध्यक्ष भण्डारीले सङ्घीयता बाहेकका सबै विवादित वस्तुमा सहमति भइसकेपनि एकीकृत नेकपा (माओवादी)ले अनेकौँ बखेडा झिकेर संविधान बनाउन नदिएको आरोप लगाउनुभयो ।
व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले नयाँ संविधानमा गलत एजेण्डा परास्त गरेर सही र लोकतान्त्रिक एजेण्डा राखेर संविधान बनाउन केही ढिलाइ भएको र संविधानसभाले नयाँ संविधान बनाएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।
सङ्घकी जिल्ला अध्यक्ष मित्र कुमारी गुरुङ सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सभासद् सीता गिरी ओली, टुका हमाललगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।