चार ठाउँमा हेल्पडेस्क स्थापना गरी जाँचमा कडाइ

बैशाख ४,जाजरकोट- जाजरकोटका विभिन्न गाविसमा फैलिएका सिजिनल फ्लु, स्वाइन फ्लु अन्य गाविस तथा जिल्लामा फैलिन नदिन हेल्पडेस्क स्थापना गरिएको छ ।

जिल्ला दैवी प्रकोप समितिले गरेको निर्णयअनुसार बिहीबारदेखि जिल्लाका चार ठाउँमा हेल्पडेस्क स्थापना गरिएको हो । जाजरकोट र सुर्खेतको सिमाना रहेको छेडाचौर, दैलेख र जाजरकोटको सिमाना थलहबजार, जाजरकोट र रुकुमको सिमाना दल्ली र बसपार्क खलङ्गाको शान्ति चौतारामा हेल्पडेस्क स्थापना गरिएको छ ।
हेल्प डेस्कमा बिरामीको जाँच गरिने र आवश्यक सल्लाह, सुझाव दिने गरिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । जिल्लाका पजारु, टालेगाउँ, अर्छानी, पैक, सक्ला, नायकवाडा, रोकायगाउँ, लह र सुवानाउली गाविसमा ती रोग फैलिएको छ । यसैबीच सो रोगबाट गएराति वीचपजारु–३ की रितु टमाटाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।