कोरियाली भाषा परीक्षा (ईपीएस) मा सहभागी हुन आजदेखि आवेदन खुला

बैशाख ३, काठमाण्डौ – कोरियाली भाषा परीक्षा (ईपीएस) मा सहभागी हुन आजदेखि आवेदन खुला भएको छ । देशभरका विभिन्न १० ठाउँबाट बिहान ८ देखि साँझ ५ बजेसम्म फाराम बुझाउन पाइने व्यवस्था गरिएको छ।

आवेदन फाराम बुझाउने म्याद वैशाख ६ गतेसम्म छ। आगामी जेठ ३० र ३१ गते सञ्चालन हुने ईपीएस भाषा परीक्षामा सामेल हुन चाहनेका लागि आवेदन खुला गरिएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।

यसपटक काठमाडौं उपत्यकामा पाँच र बाहिर पाँच गरी कुल १० स्थानबाट आवेदन दिन पाइनेछ। गत वर्ष जम्मा सात ठाउँबाट आवेदन दिने व्यवस्था थियो।
ईपीएस कोरिया शाखाका अनुसार काठमाडौं उपत्यकामा नेपाल वेद विद्या संस्कृत मावि गौशाला, काठमाडौं भ्याली उच्च मावि महाराजगन्ज, ल्याबरोटरी उच्च माध्यमिक विद्यालय कीतिर्तुर, महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो र च्यासल फुटबल खेल मैदान बालकुमारीबाट आवेदन फारम बुझाउन पाइन्छ।

यसैगरी धरान नगरपालिकाको धरान सभागृह, जनकपुर नगरपालिकास्थित जनकपुर चुरोट कारखाना लिमिटेडको कभर्ड हल, बुटवलस्थित बुटवल प्रदर्शनी मण्डप, पोखरामा विन्ध्यावासिनी उच्च मावि र डँडेलधुराको अमरगढी नगरपालिकास्थित कर्मचारी मिलन केन्द्रमा फाराम लिने र बुझाउने व्यवस्था ईपीएस कोरिया शाखाले गरेको छ। यीमध्ये पायक पर्ने कुनै पनि ठाउँबाट आवेदन दिन सकिने ईपीएस शाखाका अधिकारीले बताएका छन्।फाराम बुझाउन उपत्यकाबाहिर पाँच स्थान तोकिएको भए पनि परीक्षा दिन भने पोखराबाहेक अन्य क्षेत्रका परीक्षार्थी काठमाडौंमै आउनुपर्नेछ। ईपीएसले यसपालि पहिलोपटक उपत्यकाबाहिर पोखरामा पनि भाषा परीक्षा सञ्चालन गर्दैछ। यो केन्द्रमा पोखराबाट आवेदन दिने सहभागी हुन पाउनेछन्।