यस वर्षको नयाँ शैक्षिकशत्र आजबाट सुरु

बैशाख २, काठमाण्डौ – यस वर्षको नयाँ शैक्षिकशत्र आजबाट सुरु हुँदैछ । आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएपनि पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनकशिक्षा सामग्री केन्द्रले पर्याप्त पाठ्यपुस्तक छाप्न सकेको छैन ।

सरकारले पाठ्यपुस्तकको अभाव नहुने दाबी गरेपनि जनकशिक्षाले पर्याप्त पाठ्यपुस्तक छाप्न नसक्दा यसपाली पनि पाठ्यपुस्तक अभाव हुने भएको हो । पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मा पाएको जनकशिक्षा सामग्री केन्द्रले अहिलेसम्म एक करोड ३ लाख पाठ्यपुस्तक छापेको छ ।
यसैविच सरकारले यो वर्ष विद्यालय बाहिर रहेका १ लाख ३३ हजार बालबालिकालाई भर्ना अभियानमा सामेल गराउने तयारी गरेको छ । विद्यालय बाहिर रहेका ५ देखि ९ वर्ष उमेर समूहका १ लाख ३३ हजार बालबालिकालाई विद्यालयभित्र पुर्याउने योजनामा सरकार रहेको हो ।
यसपाली हिंसा, यौन दुव्र्यवहार र विभेदमुक्त विद्यालय बनाऔं, सबै बालबालिकालाई विद्यालय पठाऔं भन्ने नारा पनि तय गरिएको छ । शिक्षा विभागका महानिर्देशक डिल्लीराम रिमालले विद्यालयमा हुने हिंसा, यौन दुव्र्यवहार र विभेद हुने गरेकाले यो प्रवृत्तिलाई निरुत्साहित गर्न यो नारा तय गरिएको बताउनुभयो । उहाँका अनुसार विद्यार्थीलाई विद्यालयसम्म पुर्याउन बुधबारदेखि विशेष कार्यक्रम पनि हुँदैछ ।
सरकारले हरेक वर्ष विद्यार्थी भर्ना दर बढाउन अभियान चलाउने गरेपनि उनीहरुलाई टिकाउन गाह्रो हुने गरेको छ । विद्यलयमा टिकाएपनि, सिकाउन र सिकाएपनि व्यवहारमा लागु गराउन कठिन हुने गरेको एक अध्ययनले देखाएको छ ।