नयाँ शैक्षिक सत्र सुरु हुने भएपनि पाठ्यपुस्तक नभएको अवश्था

बैशाख १, कठमाण्डौ(भोलीदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएपनि पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनकशिक्षा सामग्री केन्द्रले पर्याप्त पाठ्यपुस्तक छाप्न सकेको छैन ।
सरकारले पाठ्यपुस्तकको अभाव नहुने दाबी गरेपनि जनकशिक्षाले पर्याप्त पाठ्यपुस्तक छाप्न नसक्दा यसपाली पनि पाठ्यपुस्तक अभाव हुने भएको हो । पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मा पाएको जनकशिक्षा सामग्री केन्द्रले अहिलेसम्म एक करोड ३ लाख पाठ्यपुस्तक छापेको छ ।
१ करोड ९७ लाख पाठ्यपुस्तक छाप्नुपर्ने भएपनि केन्द्रले अहिलेसम्म एक करोड ३ लाख पाठ्यपुस्तक मात्र छापेको छ । ८, ९ र १० कक्षालाई आवश्यक पर्ने ३ लाख पाठ्यपुस्तक सेट छापिएको छ । अब २ लाख सेट छाप्न बाँकी छ ।
६ र ७ कक्षाको लागि ७ लाख सेट पुस्तक आवश्यक पर्ने भएपनि निजीले छाप्ने भन्दै केन्द्रले ५० हजार सेटमात्र छापेको छ । अहिलेसम्म छापिएका पुस्तक जिल्लातिर पठाउने काम भैरहेको छ । शैक्षिक सत्र सुरु भएको महिनौसम्म पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुग्ने समस्या यसपाली पनि दोहोरिने देखिएको छ ।
पाठ्यपुस्तकको अभाव हुन नदिन सरकारले समयमा पहल नगर्दा यो समस्या वर्षेनी दोहोरिने गरेको धेरैको भनाई छ । साझा प्रकाशनले समयमा पाठ्यपुस्तक वितरण गर्न नसकेपछि गएको वर्षदेखि सरकारले जनक शिक्षा सामग्री केन्द्रलाई छाप्ने र वितरण गर्ने जिम्मा दिएको हो ।