नयाँ वर्षमा चितवनका अस्सी प्रतिशत होटल बुकिङ

चैत्र ३०,चितवन – नयाँ वर्ष मनाउन आउने पर्यटकको सङ्ख्या यो वर्ष चितवनमा बढ्ने देखिएको छ । जिल्लाको सौराहा, जगतपुर र मेघौलीका ठूला अधिकांश होटल बुकिङ भइसकेका छन् ।

चितवनको सौराहामा मात्र सानाठूला गरी ९७ वटा होटल छन् भने जगतपुरमा १७ र मेघौलीमा चारवटा होटल छन् । सबै होटलको कुल क्षमता दुई हजार ७०० रहेको क्षेत्रीय होटल सङ्घ सौराहाका कार्यवाहक अध्यक्ष सुमन घिमिरेले बताउनुभयो । जसमध्ये भरतपुरका पर्यटकीय होटल र नवलपरासीको मध्यवर्ती क्षेत्रमा रहेका ६ वटा होटल पर्दछन् । सौराहाको होटल सेभेन स्टारका प्रबन्ध निर्देशक माधव दुवाडीले आजदेखि चार दिनसम्मका लागि होटल पूरै बुकिङ भएको बताउनुभयो ।
गत वर्षभन्दा यो वर्ष बुकिङ राम्रो रहेको उहाँले बताउनुभयो । मेघौलीको होटल बाराही जङ्गल लजमा पनि सबै बुकिङ भएको छ । गत वर्ष ५० प्रतिशत बुकिङ भएकामा यो वर्ष आइतबार साँझसम्ममा ८० प्रतिशत बुकिङ भइसकेको र विभिन्न एजेन्सीबाट सम्पर्क गरिरहेको बताइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको कसरानजिकै रहेको कसरा जङ्गल रिसोर्ट पनि आइतबार साँझसम्ममा ६८ प्रतिशत बुकिङ भइसकेको जनसम्पर्क अधिकृत सागर पौडेलले बताउनुभयो ।
चितवनमा पर्यटक चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैंडा, बाघलगायत दुर्लभ वन्यजन्तु हेर्न आउँछन् । पर्यटक हात्ती चढेर जङ्गल सफारी गर्न, नदीमा डुङ्गा सयर गर्न, निकुञ्जमा पदयात्रा गर्न पनि आउने गर्दछन् । पर्यटक बढेसँगै चितवनमा होटलमा लगानी थप्ने क्रम बढेर गएको छ ।रु पाँच अरबभन्दा बढी लगानी चितवनका होटलमा भएको व्यवसायीको भनाइ छ ।