कांग्रेस नेताहरुले भने–चैतभित्र सहमति नभए प्रक्रियाबाट संविधान

चैत्र २८, काठमाण्डौ – नेपाली काँग्रेसका नेताहरूले चैतभित्रमा सहमति नभए प्रक्रियाबाटसंविधान जारी गर्नुपर्नेमा जोड दिनुभएको छ । अर्घाखाँची सम्पर्क सदनले आज राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उक्त दलका नेताहरूले सहमतिको नाममा संविधान निर्माण प्रक्रियालाई अवरुद्ध गर्न नहुने भन्दै चैत ३० गतेभित्रमा सहमति नभए प्रक्रियामा जानुको विकल्प छैन भन्नुभयो ।

काँग्रेसका नेता तथा पूर्वमन्त्री ढुण्डीराज शास्त्रीले सदनद्वारा प्रकाशित ‘चिनारी’ नामक पुस्तक विमोचन गर्दै ‘संविधान सहमतिको दस्तावेज’ भएकाले त्यसमा सबैका सबै अधिकारभन्दा पनि सबैका केही अधिकारमात्र सुनिश्चिन गर्न सकिने हुँदा अन्तिममा प्रक्रियालाई अगाडि बढाउनुको विकल्प नरहेको बताउनुभयो ।
काँग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले समयमै संविधान नबन्दा दलित, महिला, मधेसी, आदिवासी जनजाति, मुस्लिमलगायत उत्पीडनमा परेका समुदायलाई सबैभन्दा बढी घाटा हुने हुँदा जतिसक्दो चाँडो संविधानका लागि सकारात्मक दबाब दिनुपर्नेमा जोड दिनुभयो ।
अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँडले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायत जनआन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न चाँडो संविधान जारी गर्नुपर्छ भन्नुभयो । नेत्री पुष्पा भुसालले राज्यका हरेक संरचनामा महिलाको समान सहभागिता हुनुपर्ने माग गर्नुभयो ।
‘चिनारी’ मा अर्घाखाँची जिल्लाका विकास– निर्माणसम्बन्धी तथ्यगत विवरणका साथै ऐतिहासिक, साहित्यिक, सांस्कृति, धार्मिक र पर्यटकीय क्षेत्रसँग सम्बन्धित विषयवस्तु समेटिएको छ । सदनका अध्यक्ष प्रा माधवराज गौतमले अर्घाखाँचीबाट काठमाडौँ आएर विभिन्न पेसामा संलग्न जिल्लावासीबीच आपसी सद्भाव र सहयोगको क्षेत्रलाई व्यापक बनाउन २०४१ सालमा सदनको स्थापना गरिएको जानकारी दिनुभयो ।