बाग्मती सफाइ अभियान थालिएको एक सय हप्ता पुगेको अवसरमा आज बाग्मतीमा मानव साङलो

चौत्र २८, काठमाण्डौ— बाग्मती सफाइ अभियान थालिएको एक सय हप्ता पुगेको अवसरमा आज बाग्मतीमा मानव साङलो बनाइएको छ । बाग्मती सफाइमा एक्वद्धता जनाउँन भन्दै सुन्दरीजलदेखि चोभारसम्मको २८ किलोमिटर लामो बाग्मती नदी किनारमा मानव साङलो बनाइएको हो । बाग्मतीको दुवै किनारामा साङलो बनाइ ‘बाग्मती सफा छ, अब फोहर गरिने छैन’ भन्ने सन्देश दिइएको हो ।
बाग्मती सरसफाइ अभियानका क्रममा प्रधानमन्त्री कार्यालयका पूर्व सचिव कृष्णहरी बास्कोटाको सक्रियता प्रारम्भदेखि नै थियो भने मुख्यसचिव लिलामणि पौडेल पनि बाग्मती सफाइ अभियानमा सक्रिय छन् ।
बाग्मती सफाइअभियानमा विभिन्न समयमा विभिन्न नेताहरुको पनि सहभागिता रहृयो । पूर्व प्रधानमन्त्री तथा एमाओवादी नेता डा.बाबुराम भट्टराईको सक्रियता पनि उल्लेख्य रह्यो । बाग्मती सफाइको अहिलेसम्मको अभियानमा सहभागिता नजनाएका राजनीतिक दलका शीर्ष नेताहरुले पनि मानव साङलोमा सहभागिता जनाएर बाग्मती सभ्यतालाई जोगाई राख्ने प्रण गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालादेखि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु मानव साङलोमा बाँधिए ।
प्रधानमन्त्री सुशील कोइराला तीलगंगाथित बाग्मती नदी किनारमा सहभागी भए भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थापाथली, कांग्रेस उपसभापति रामचन्द्र पोडेल सानेपामा, एमाओवादी वरिष्ठ नेता डा.बाबुराम भट्टराई बाग्मती पुल छेउ सहभागी भए ।
यस्तै, प्रधानन्यायाधीस रामकुमार प्रसाद शाहसहितको टोली पशुपति तिलगंगा तथा संविधानसभा अध्यक्ष सुभाष नेम्वाङ् र प्रमुख सचेतकहरु थापाथली(कुपण्डोलमा सहभागिता जनाए ।
बाग्मती सफाइ अभियानमा  प्रारम्भदेखि नै सेना, प्रहरी, विद्यार्थी तथा स्थानीय टोल सुधार समितिले सक्रिय सहभागिता जनाउँदै आएका छन् । सफाइ अभियान थालिएपछि नदीमा फोहर फाल्ने कार्यमा कमी आएको छ भने बाग्मती सफा देखिन थालेको छ ।
यद्यपि केही स्थानमा बाग्मतीमा सिधै ढल मिसाइएकोले नुहाइधुवाइका लागि योग्य हुन नसकेको वातावरणविज्ञहरु बताउँछन् ।