युरोपेली सांसदले सभाध्यक्षसँग सोधे–‘संविधानसभाको तेस्रो निर्वाचन हुन्छ/हुँदैन ?’

चैत्र २६,काठमाडौ- नेपाल भ्रमणमा रहेको युरोपेली सांसदको टोलीले विहीबार राष्ट्रपति डा. रामवरण यादवसँग शिष्टाचार भेट गरेको छ ।

युरोपेली सांसद जीन लाम्बार्टका नेतृत्वमा आएका चारजना सांसदको टोलीले राष्ट्रपति यादवसँग नेपालको संविधान निर्माणको अवस्था, राजनीतिक गतिविधिलगायत विषयमा छलफल गरेको थियो ।यसअघि, विहीबारै टोलीले सभाध्यक्ष सुवास नेम्वाङ र परराष्ट्रमन्त्री महेन्द्र पाण्डेसँग छुट्टा–छुट्टै भेटवार्ता गरेको थियो ।त्यसक्रममा टोलीले नेपालको संविधान निर्माण, शान्ति र विकास निर्माणका विषयमा जानकारी लियो ।

सभाध्यक्ष नेम्वाङसँगको भेटमा सांसदको टोलीले संविधान निर्माणमा भइरहेको ढिलाइ र त्यसबाट उत्पन्न परिस्थितिका बारेमा जिज्ञासा राखेका थिए ।उनीहरुले दलहरुबीच कहिलेसम्म सहमति हुन सक्ने, सहमति नभएको अवस्थामा नेपाल कसरी अगाडि बढ्ने, संविधानसभाको तेसो निर्वाचन हुन सक्ने/नसक्ने विषयमा जानकारी लिएको भेटपछि सभाध्यक्ष नेम्वाङले जानकारी दिए ।परराष्ट्रमन्त्री पाण्डेसँगको भेटपछि युरोपेली सांसद जीन लाम्बार्टले नेपालको संविधान लेखन, आर्थिक विकास, कतारमा नेपाली कामदारको अवस्था, मावनअधिकारलगायतका विषयमा छलफल भएको जानकारी सन्चारकर्मीलाई दिइन् ।यस्तै, मन्त्री पाण्डेले राजनीतिक स्थीरता, शान्ति, विकाससहित जलवायु परिवर्तनका असर कम गर्न चालिनुपर्ने विषय, नेपालले शरणार्थीलाई गर्ने व्यवहारलगायतका विषयमा टोलीले जिज्ञासा राखेको जानकारी दिए ।टोलीले विहीबारै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेको थियो ।