रानीबारी हत्याकाण्डका आरोपितलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

चैत्र २६,काठमाडौ- काठमाडौँ जिल्ला अदालतले चर्चित रानीबारी हत्याकाण्डका आरोपितलाई पूर्पपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेशकुमार काफ्लेको इजलासले आज सो घटनामा आरोपित मनराज गुरुङ र प्रमेश चौहानलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

बिहीबारदेखि सुनुवाइ सुरु भएको रानीबारी हत्याकाण्डको मुद्दाका आरोपितद्वय गुरुङ र चौहानलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार श्रीप्रसाद सञ्जेलले जानकारी दिनुभयो ।
पीडितका पक्षको तर्फबाट सरकारी वकिलको कार्यालयले मङ्गलबार मुद्दा दर्ता गरेको थियो । आरोपित गुरुङ र चौहानमाथि काठमाडौँ रानीबारीका इन्जिनियर हेमराज श्रेष्ठ र उहाँकी पत्नी अञ्जली श्रेष्ठको हत्या गरेको आरोप छ । घरबेटी गीता खड्कालाई मार्न जाने क्रममा उनीहरूले धारिलो हतियार प्रयोग गरी श्रेष्ठ दम्पतीको हत्या गरेका थिए ।
यो हत्याकाण्ड भएको १२ वर्षपछि प्रहरीले यस घटनामा संलग्न भएकाहरूलाई यही चैत १ गते सार्वजनिक गरेको थियो ।