जाजरकोटमा अज्ञात रोगले एक सातामा ७ जनाको मृत्यु, सयौं बिरामी

चैत्र २६, जाजरकोट- जाजरकोटको दुर्गम गाउँमा फैलिएको अज्ञात रोगका कारण एक सातामा ७ जनाको ज्यान गएको छ भने रोगले सयौं बिरामी परेका छन । जिल्लाको अर्छानी, पैक, नायकवाडा र सक्ला गाउँ विकास समितिमा रोग फैलिएको छ । मृत्यु हुनेमा अर्छानी–५ की १६ बर्षिया सुस्मिता जैसीसहित पैंक गाविसमा मात्र ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पैक–४ की ५६ वर्षिया जयसरी रोकाय, ५ का ५५ वर्षिय खम्बबहादुर नेपाली, ६ का ५८ वर्षिय धनबहादुर रोकाय, ४ का ६० वर्षिय बीरबहादुर रोकाय, ४ की ६३ वर्षिया कल्दरी रोकाय र वडा नं ३ की जयरुपा उपाध्याको मृत्यु भएको पैक ५ का जितबहादुर रोकायले जानकारी दिनु भएको छ ।
बिहीबार थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको रोकायले बताउँनु भयो । गाउँभरी विरामी छन् । पैक गाविसमा मात्र ४ सय बढी विरामी परेका छन् रोकायले भन्नु भयो ।
बिरामीमा टाउको, छाती र हात खट्टा दुख्ने, वाकवाकी लाग्ने र ज्वरो आउने लक्षण रहेको स्थानीले बताएका छन । सदरमुकामबाट औषधि र स्वास्थ्यकर्मीको टोली पैकमा पुगेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेतले जानकारी दिनु भयो । स्वास्थ्यकर्मीको टोली पुगे पनि रोगको पहिचान हुन नसको प्रजिअ बस्नेतले बताउनु भयो । गाविस सचिव दिर्घराज आरसीले स्थानिय स्वास्थ्य संस्थामा औषधी नभएका कारण उपचारमा समस्या आएको बताएका छन् ।