मयार्दा मिच्दै विदेश भ्रमण गर्दै

चैत्र २५,काठमाडौ- उच्चपदस्थ नेता तथा प्रशासकको विदेश भ्रमणमा देखिएका विकृति केलाउँदै भ्रमण मापदण्ड तयार गर्ने काम प्रधानमन्त्री कार्यालयमा भइरहेकै बेला अर्थमन्त्री रामशरण महत ग्लोबल आईएमई बैंकको शाखा उद्घाटन गर्न बैंककै खर्चमा गत साता अस्ट्रेलिया पुगे ।

मापदण्ड बनाउने कार्यदलले गरेको छलफलका क्रममा निजी कम्पनी, एजेन्ट, दातृ निकाय, गैरसकारी संस्थाको खर्चमा विदेश भ्रमण गर्न प्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ कर्मचारीलाई रोक लगाउने सुझाव आइरहेको छ । ‘अर्थमन्त्रीले कुनै कम्पनीको भ्रमण गर्नु नै कन्फिलक्ट अफ इन्ट्रेस्ट आकषिर्त हुने कुरा हो,’ एक अधिकारीले भने, ‘फेरि मन्त्री बैंकको शाखा उद्घाटनमा अस्ट्रेलियासम्म पुग्नु पदीय मर्यादाविपरीत हो ।’
नेपाल एयरलाइन्सले हालै भित्र्याएको एयरबसका लागि रुट हेर्न भन्दै पर्यटनमन्त्री दीपक अमात्यले एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनाललाई लिएर दुई साताअघि हङकङ र चीन घुमेका थिए ।
मर्यादा बिर्सेर विदेश भ्रमण गर्ने प्रवृत्ति बढदै गएको छ । उद्योग मन्त्रालयकी सहसचिव यामकुमारी खतिवडा सुरक्षासम्बन्धी तालिममा सहभागी हुन हालै अमेरिकाको हवाईमा गएकी छन् ।