बन्द फिर्ताको विरोध (विज्ञप्ति सहित)

चैत्र २५,काठमाडौ- एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले चैत्र २४, २५ र २६ गतेका लागि पूर्वघोषित आमहड्ताल फिर्ता लिएको निर्णयप्रति विपक्षी मोर्चाको एक प्रमुख घटक मधेसी जनअधिकार फोरम, नेपालले बिरोध गरेको छ ।

सरकारले विगतका सहमति र सम्झौतालाई कार्यान्वयन गर्ने ठोस प्रतिवद्धता जाहेर नगरेसम्म र मोर्चाको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भनेर ३० दलीय विपक्षी मोर्चाले चैत्र १ गते गरेको निर्णय विपरीत आमहड्ताल फिर्ता लिएर मोर्चाले मधेसी, जनजाति र उत्पीडितवर्ग लगायत आमजनतालाई धोका दिएको फोरम नेपालको ठहर छ ।

 

प्रेस–विज्ञप्ति
एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले चैत्र २४, २५ र २६ गतेका लागि पूर्वघोषित आमहड्ताल फिर्ता लिएको निर्णयप्रति विपक्षी मोर्चाको एक प्रमुख घटक मधेसी जनअधिकार फोरम, नेपाल कडा आपत्ति प्रकट गर्दछ । सरकारले विगतका सहमति र सम्झौतालाई कार्यान्वयन गर्ने ठोस प्रतिवद्धता जाहेर नगरेसम्म र मोर्चाको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भनेर ३० दलीय विपक्षी मोर्चाले चैत्र १ गते गरेको निर्णय विपरीत आमहड्ताल फिर्ता लिएर मोर्चाले मधेसी, जनजाति र उत्पीडितवर्ग लगायत आमजनतालाई धोका दिएको फोरम नेपालको ठहर छ ।
सत्तासीन दल नेपाली कांग्रेस र नेकपा एमालेले बहुमतको दम्भले जनभावना विपरीत संविधान बनाउन उद्दत रहेको र तिनका विरुद्व सार्थक संविधानका लागि जनता सडकमा ओर्लिसकेको र आन्दोलन निर्णायक चरणमा पुगिसकेको अवस्थामा आमहड्ताल फिर्ता लिएर मोर्चाले गम्भीर गल्ती गरेको छ । यो निर्णयप्रति आफ्नो कुनै सहमति नरहेको जानकारी गराउँदै मधेसी जनअधिकार फोरम, नेपाल दुःख व्यक्त गर्दछ ।

उपेन्द्र यादव
अध्यक्ष, मधेसी जनअधिकार फोरम, नेपाल