बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कैद सजाय

चैत्र २५,राजविराज- सप्तरी जिल्ला अदालतले बोक्सीको आरोपमा कुटपिट गर्नेलाई रु १० हजार जरिवाना र सात महिना कैद सजाय सुनाएको छ ।

सो अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पाँच महिनाअघि बोक्सीको आरोपमा कुटपिट गर्ने रञ्जनादेवी सदालाई सो फैसला सुनाएको अदालतका श्रेस्तेदार नवराज दुलालले बताउनुभयो ।
यसैगरी किशुनदेव सदा, रेणुदेवी सदा र देवनारायण सदालाई जनही रु सात हजार जरिवाना र चार महिना कैदको सजाय सुनाइएको छ ।
शम्भुनाथ नगरपालिका– १० का अनिरुद्ध सदाका पाँच वर्षीय बालकको निमोनियाले मृत्यु भएपछि सकुन्तीदेवी साहले टुनामुना गरी मारेको रञ्जनादेवी सदाले भनेपछि स्थानीयले कुटपिट गरेका थिए ।
स्थानीय सदाहरुले सकुन्तीदेवी साहलाई आगोमा झोसेर हत्या गर्ने प्रयास गरिरहँदा इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक छेदीलाल कामतीको टोलीले साहलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएका थिए ।
घटनामा संलग्न रहेको भन्दै प्रहरीले किसुनदेव सदा, रेणुदेवी सदा, रञ्जनादेवी सदा, देवनारायण सदालाई पक्राउ गरेको थियो ।