३० दलीय मोर्चाले भोलि र पर्सिको बन्द फिर्ता

चैत्र २४, काठमाण्डौ- एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले बुधबार (भोलि) र विहीबार (पर्सी)को बन्द फिर्ता लिएको छ ।

बन्दको समीक्षा गर्न मंगलबार साँझ राजधानीमा बसेको मोर्चाको बैठकले बुधबार र विहीबारको बन्द स्थगित गर्ने निर्णय गरेको हो ।

मोर्चाको बैठकमा केही समूह बन्द जारी राख्नुपर्नेमा रहेपनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले बन्द लम्ब्याउँदा जनतामा नकारात्मक असर पर्ने भन्दै आम हडतालका कार्यक्रम फिर्ता लिनुपर्ने प्रस्ताव गरेको जनाइएको छ ।

यसअघि मंगलबार बिहान उद्योगी, व्यवसायीहरुसँगको भेटमा एमाओवादी अध्यक्ष दाहालले मोर्चाको बैठकमा बन्द फिर्ताको प्रस्ताव राख्ने आश्वासन दिएका थिए ।