प्रधानमन्त्रीले सहमतिमै संविधान जारी गर्ने प्रतिबद्धता ब्यक्त गरे बन्द रोकिन्छः सापकोटा

चैत्र २४, काठमाण्डौ- एकीकृत नेकपा माओवादीका नेता अग्नी सापकोटाले प्रधानमन्त्री सुशील कोइरालाले आफूहरु विगतका सम्झौताका आधारमा सहमतिमा संविधान जारी गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गरे बाँकी बन्द रोकिने बताउनु भएको छ ।

रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा उहाँले प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष र प्रधानन्यायधिश योजनाबद्ध ढंगले शान्ति प्रक्रिया भंग गर्ने योजनामा लागेको भन्दै यसको विरुद्ध सडकमा जानुको विकल्प नभएको बताउनु भयो ।
सापकोटाले प्रधानमन्त्री सुशील कोइरालाले ठोस निर्णय गर्न सके अहिले पनि सहमतिको सम्भावना रहेको भन्दै यो बन्दलाई निरन्तर कायम राख्ने कि नराख्ने भन्ने विषय सरकारको हातमा भएको बताउनु भयो ।
आफूहरु कुनै पनि हालतमा यथास्थितिमा आत्मसमर्पण गर्न तयार नरहेको भन्दै विगतका सम्झौता कार्यान्वयन गरेर सहमतिमा संविधान बनाउने दिशामा अघि बढे समस्या समाधान हुने उल्लेख गर्नुभयो ।
सापकोटाले नेपाली जनताको अधिकार खोस्न आफूहरुलाई पेलेर जान खोजिएको दावी गर्दै आर्थिक क्षतीको नाउमा चुप लागेर नबस्ने, मुलुकलाई बर्बाद हुन नदिने दावी गर्नुभयो ।
उनले भन्नुभयो – संविधान बनाउन दिएन भनेर हामीलाई दोष थोपर्ने योजना छ । जनता जनतालाई भिडाउन खोजिदैछ । यसलाई हामी सफल हुन दिदैनौ ।
सापकोटाले सरकार आन्दोलनकारी विरुद्ध पूर्ण दमनमा उत्रिएको भन्दै त्यसको प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।