आइएसले हत्या गरेका १७०० सैनिकको सामुहिक चिहान फेला

चैत्र २४, काठमाण्डौ- इराकको टिक्रिट सहरमा इस्लामिक अतिवादी समूह ‘आइएस’ले हत्या गरेको भनिएका १७ सय सरकारी सेनाको १२ सामुहिक चिहान फेला परेको छ । ती सैनिकलार्इ मारेर पुरिएको १२ वटा सामूहिक चिहान भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हालै भएको घमासान लडाइँपछि तिक्रितलार्इ आइएसको कब्जाबाट मुक्त गरिएको छ । सोही क्रममा आइएसबाट ती सैनिक मारिएको बताइएको छ ।

अहिले १२ वटै चिहानको उत्खनन थालिएको छ । चिहानको उत्खननपछि शवको परीक्षणका लागि प्रयोगशालमा पठाउने तयारी भएको छ । अहिलेसम्म ती सैनिकका परिवारलार्इ पनि आफ्ना सदस्य मारिएको खबर थाहा दिइएको छैन । इस्लामिक स्टेटको सबैभन्दा बलियो अखडा इराकको मसुल शहर हो । जसलार्इ आइएसबाट मुक्त गराउन इराकी र अमेरिकी सैनिककालागि ठूलो चुनौति रहेको छ ।

आइएसले टिक्रिटलाई आफ्नो मुख्यालय बनाएको थियो । हालै मात्र त्यहाँको सरकारी सेनाले टिक्रिट सहर आइएसको नियन्त्रणबाट मुक्त गरेको थियो ।