अख्तियार पर्यटन बोर्डमा भएको भ्रष्टाचारविरुद्ध मुद्दा दर्ता गर्ने

चैत्र २०,काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा झण्डै ८० करोड बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गर्ने भएको छ । आयोगले बोर्डका तत्कालीन कार्यकारी निर्देशक सुवास निरौलासहित ५२ जनालाई प्रतिवादी बनाएको छ । सरकार दुईजना सचिव पनि प्रतिवादीका रुपमा रहेका छन् । हिजो समय अभावका कारण दर्ता नभएको र आज दर्ता गरिने अख्तियारका प्रवक्ता देगेन्द्र शर्मा पौडेलले जानकारी दिनुभयो ।

अख्तियार स्रोतका अनुसार केही सचिव, सहसचिवलगायतलाई प्रतिवादी बनाइएको छ । पर्यटन बोर्डमा भ्रष्टाचार भएको भन्दै पर्यटन व्यवसायी आन्दोलित भएपछि संसदको सार्वजनिक लेखा समितिले छानबिन गरेको थियो ।
वैदेशिक अध्ययन, पर्यटन प्रवर्द्धन, खरिद, भत्ता सुविधालगायत शीर्षकमा भ्रष्टाचार भएको भेटिएको निर्णयसहित लेखा समितिले थप छानबिन गरी कारबाहीका लागि अख्तियारमा फाइल पठाएको थियो । करिब ६ महिनाको अवधिमा अख्तियारले अनुसन्धान सम्पन्न गरेको हो ।