चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने

चैत्र १९,काठमाण्डौ- चिनियाँ राष्ट्रपति सी जिनपिङले समकक्षी रावरण यादवको कार्यकालमै नेपाल भ्रमण गर्ने बताएका छन् । सीले यादवसितको भेटवार्ताका बेला आफूले नेपालका प्रथम राष्ट्रपतिकै आतिथ्य हुने गरी भ्रमण गर्ने बताएको परराष्ट्र मन्त्रालयका अधिकारीले जनाए ।बेआओ फोरम फर एसियाको वार्षिक सम्मेलनका बेला भएको दुइपक्षीय ‘साइडलाइन’ वार्तामा सीले यादवलाई नेपाल भ्रमणको वचन दिएका हुन् । संविधानसभाबाट नयाँ संविधान जारी हुनासाथ राष्ट्रपति यादवको कार्यकाल सकिने भएकाले सीको भ्रमण त्यसअघि नै हुने भ्रमणमा सहभागी एक अधिकारीले बताए । सरकारले राष्ट्रपति सीलाई नेपालको राजकीय भ्रमण गर्न यसअघि नै निम्ता गरिसकेको छ । भेटमा राष्ट्रपति यादवले सीलाई नेपाल भ्रमण गर्न पुनः आग्रह गरेका थिए ।

चिनियाँ राष्ट्रपतिले सक्दो छिटो नेपाल भ्रमणको तिथि तय गर्न आफ्ना कूटनीतिक संयन्त्रलाई निर्देहन दिने जानकारी गराएको राष्ट्रपतिका सल्लाहकार हरि शर्माले बताए । शर्मा राष्ट्रपतिको भ्रमण टोलीमा थिए ।सन् २०१५ को सीको भ्रमण सूचीमा भने नेपाल परेको छैन ।सरकारले सीलाई नेपाल ल्याउन धेरै पहिलेदेखि पहल गर्दै आएको छ ।सीले नेपालमा दिगो शान्तिका लागि संविधान लेखन छिटो सम्पन्न गर्न आग्रह गरेका थिए । ‘नेपालको विकास प्रक्रियामा सहयात्री हुन चीन तयार छ, ’ सीको भनाई उद्धृत गर्दै एक सहभागी अधिकारीले भने ।
पश्चिमा राष्ट्रले तिब्बतको विषयलाई अनावश्यक रुपमा उछालेको भन्दै उनले त्यसबारे नेपालले अपनाएको संयम र दृढताको प्रशंसा गरेका थिए ।यादव र सीबिच बोआओस्थित ‘स्टेट गेस्ट हाउस’ मा भेटवार्ता भएको थियो । चिनियाँ राष्ट्रपतिले दिगो शान्ति र स्थायीत्वको कामना गर्दै नेपाल आर्थिक उन्नतिको बाटोमा अगाडि बढेको हेर्न आफूले चाहेको बताएको भ्रमणमा सहभागी सहरी विकासमन्त्री नरायण खड्काले जनाए ।