चैत्र १७, काठमाण्डौ- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाओवादीलाई दुविधाग्रस्त मनस्थिति त्यागेर संविधान निर्माणमा लाग्न सुझाव दिनुभएको छ । जनताको अभिमतलाई सम्मान गर्दै छिटो संविधान जारी गर्ने काममा लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्नेमा उहाँको भनाइृ छ ।‘निर्वाचनको माध्यमबाट जनताले संविधान लेख्न पठाएका एमाओवादीसहितका दलले सडकमा लठ्ठी, खुकुरी बोकेर उत्रेर के गर्न खोजेको हो उहाँले प्रश्न गर्नुभयो ।
संक्रमणकालको पीडा र असहजता मुलुकले अब धान्न नसक्ने भन्दै उहाँले सबै लोकतान्त्रिक शक्तिलाई संविधान लेख्ने कार्यमा अग्रसर हुन आह्वान गर्नुभयो ।जातीय पहिचानको नाममा जनतालाई भावनामा बहकाएर समाजमा विभेद उत्पन्न नगराउन उहाँले एमाओवादी सहितको ३० दलीय मोर्चालाई सुझाव दिनुभयो । बहुजातीय, बहुधार्मिक, बहुभाषिक एवम् बहुसांस्कृतिक मुलुक भएकाले सबैको प्रतिनिधित्व हुने खालको संविधान बनाउनुपर्नेमा उनले जोड दिनुभयो ।