सामान्य प्रदर्शनले कांग्रेस एमालेलाई धक्का दिन सकिँदैन- दाहाल

चैत्र १७, काठमाण्डौ- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सामान्य विरोध प्रदर्शन गरेका भरमा कांग्रेस र एमालेलाई धक्का दिन नसकिने बताउनुभएको छ । काठमाडौंमा उपलब्ध सभासद र केन्द्रिय सदस्यहरुलाई केन्द्रिय कार्यालयमा बोलाएर दहालले नेपाली कांग्रेस र नेकपा एमालेले दुई तिहाइको आडमा पेलेर जाने रणनीति लिएको भन्दै दुई दललाई अब गतिलो जवाफ दिन आवश्यक रहेको बताउनुभयो । उहाँले कांग्रेस र एमालेलाई गतिलो जवाफ दिन सबै नेता र कार्यकर्ताहरुले आन्दोलनलाई सशक्त तुल्याउन भूमिका खेल्नुपर्ने बताउनुभयो ।कांग्रेस र एमाले संविधानका अन्र्तवस्तुमा सहमतिका लागि तयार नदेखिएका कारण अब संघर्षको विकल्प नरहेको भन्दै उहाँले संघर्ष चर्काउनका लागि आ आफ्नो क्षेत्रमा खटिन सभासद् र केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभएको छ । दहालले ३० दलीय गठबन्धनले घोषणा गरेका आन्दोलनलाई प्रभावकारी बनाउनका लागि भूमिका खेल्न निर्देशन पनि दिनुभयो । ३० दलीय गठबन्धनले चैत २३ गतेसम्मका लागि पूर्व्निर्धा्रित आन्दोलनका कार्यक्रम फिर्ता लिए पनि चैत २४ देखि २६ गतेसम्मको आमहड्ताल भने यथावत राखेको छ । भेलापछि पार्टीका नेता डा. बाबुराम भट्टराईले सत्तारुढ दलहरुले एकपक्षीय रुपमा संविधानसभाको बैठक बोलाउन लगाएर वार्ताको ढोका बन्द गरेकाले तत्काल पार्टीका सामु आन्दोलन चर्काउनुको विकल्प नभएकोबारेमा छलफल भएको बताउनुभयो ।

एक अर्को प्रसङ्गमा बैठकमा पेलिट्ब्युरो सदस्य प्रभु साहले पार्टी अध्यक्ष पुष्पकमल दाहालको हत्याको गर्ने योजना बनाएको भनी रौतहटका केही नेता तथा कार्यकर्ताले लगाएको आरोपमाथि पनि छलफल भएको थियो । अध्यक्ष पुष्पकमल दाहालले साहमाथि हत्या प्रयासको झुटो आरोप लगाईएको भन्दै यस्तो गैरजिम्मेवार र निराधार आरोप लगाउनेमाथि छानविन गर्ने निर्णय सुनाउनुभएको थियो ।