सरकारी टोली र डा केसीबीच छलफल, भोलि पनि वार्ता हुने

चैत्र १५,काठमाण्डौ- चिकित्सा शिक्षा क्षेत्रमा व्यापारीकरणको अन्त्यलगायतका माग राखी गत सातादेखि आमरण अनशनमा बस्नुभएका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसी र उहाँको सहयोगी समूहसँग आज सरकारी वार्ता समितिले छलफल गरेको छ ।

सरकारी वार्ता टोलीका सदस्यद्वय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी र मुख्य सचिव लीलामणि पौडेल आज बिहान अनशनस्थल पुगी केसीका माग र तिनलाई पूरा गराउने उपायका सम्बन्धमा छलफल गर्नु भएको थियो ।
वार्तामा केसीका तर्फबाट सहभागी जीवन क्षेत्रीका अनुसार मागका १० बुँदा र त्यसलाई पूरा गराउने र समस्या समाधान हुने विकल्पका बारेमा एकसरो कुराकानी भएको र आजै साँझ वा भोलिसम्ममा अर्काे वार्ता हुनेछ ।
मन्त्रिपरिषद्को यही चैत १३ को बैठकले स्वास्थ्यमन्त्री अधिकारी, शिक्षामन्त्री चित्रलेखा यादव र मुख्य सचिव पौडेल रहेको वार्ता समिति गठन गरेको थियो । केसी यही चैत ९ गतेदेखि अनशनमा बस्नुभएको हो ।