अनलाइन भिसा प्रयासलाई राष्ट्रियतासँग जोडेर भ्रामक प्रचार गरियो – गृहमन्त्री

चैत्र १३ , काठमाण्डौं— गृहमन्त्री बामदेव गौतमले भिसा प्रणालीलाई आधुनिकीकरण गर्न थालिएको प्रयासलाई राष्ट्रियता र देशको गोपनीयतासँग जोडेर भ्रामक प्रचार गरिएको दाबी गर्नु भएको छ ।

आज राजधानीमा नेकपा एमाले सन्चार ईलाका परिषद बैठकको उद्घाटन गर्दै गृहमन्त्री गौतमले विश्वका एक सयभन्दा बढी देशले गरेको अभ्यासलाई नेपालमा राष्ट्रियतासँग जोडेर हेर्नुको कुनै अर्थ नरहेको बताउनु भएको हो ।उहाँले विश्वभर अनलाइन भिसा प्रणालीमा सरकार वा निजी कम्पनीले काम गरिरहेको दाबी गर्नुभयो ।नेपालको अध्यागमन विभागबाट सम्भव नभएकाले निजी कम्पनीको छुट्टै कार्यालय स्थापना गरी प्राविधिक काम गर्ने गरी निश्चित अवधीका लागि जिम्मेवारी दिइने उहाँको भनाइ थियो ।

गृहमन्त्री गौतमले नेपाल आतंककारी र तस्करहरुको ‘ट्रान्जिट प्वाइन्ट’ बनिरहेको आरोप चिर्न पनि अनलाइन भिसा प्रणालीमा जानुपर्ने तर्क गर्नुभयो ।अनलाइन भीसा प्रणाली विदेशी निजी कम्पनीलाई जिम्मा दिने सरकारी तयारीबारे गृहमन्त्री गौतमकै पार्टी एमालेमा पनि विरोध भएरहेको छ ।