विधायन समितिद्वारा केही नेपाल संशोधन विधेयक पारित

चैत्र १३ , काठमाण्डौं— व्यवस्थापिका संसदको विधायन समितिले केही नेपाल कानूनलाई संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।समितिको आज सिंहदरबारमा बसेको बैठकले दफावार छलफलपछि विधेयक पारित गरेको हो । समितिले विधेयक पारित गरेसँगै ४५ वटा पुराना कानून खारेज हुने भएका छन् । २०१५ देखि २०६७ सालसम्म बनेका ४५ वटा ऐन र नियमावलीहरु खारेज हुने भएका हुन् ।

समितिले पारित गरेको विधेयक व्यवस्थापिका संसदले विधेयक पारित गरेपछि विमानस्थल दस्तुर नियमावली २०३८ खारेज गर्ने नियमावली २०६७, राष्ट्रियसभा नियमावली २०५५, मदिरा नियन्त्रण कोष नियमावली २०५४, धितोपत्र कारोबार नियमावली २०५० लगायतका ४५ वटा कानून खारेज हुनेछन् ।समितिले पारित गरेको विधेयक व्यवस्थापिका संसदले पारित गरेपछि १४ वटा कानून संशोधन हुने छन् । सरकारले केही नेपाल कानूनलाई संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गएको असार महिनामा संसदमा पेश गरेको थियो ।