दलहरुबीच ध्रबीकरण बढ्दै गए प्राप्त उपलब्धि पनि गुम्न सक्छ – प्रधानमन्त्री

चैत १२, काठमाडौँ- प्रधानमन्त्री सुशील कोइरालाले दलहरुबीच ध्रुबीकरण बढ्दै गए प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताउनुभएको छ । प्रधानमन्त्री कोइरालाले आज बालुवाटारस्थित आफ्नै निवासमा संघीय समावेशी मोर्चाको ज्ञापनपत्र बुझ्दै दलीय ध्रुबीकरण बढ्दै गए २०६२÷६३ को जनआन्दोलनबाट प्राप्त उपलब्ध गुम्न सक्ने बताउनुभयो ।

उहाँले आन्दोलनका उपलब्धि गुम्न नदिन सबै मिलेर संविधान जारी गर्नुपर्ने र त्यसका लागि एकीकृत नेकपा माओवादीले आन्दोलनका कार्यक्रम फिर्ता लिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री कोइरालाले संक्रमणकालको अन्त्य गर्न संविधान जतिसक्दो चाँडो जारी गर्नुको विकल्प नभएको बताउनुभयो । कोइरालाले मुलुकमा भ्रष्टाचार बढेको स्वीकार गर्दै भ्रष्टाचारीले संविधान जारी नहुँदाको फाइदा उठाइरहेको बताउनुभयो ।
आफ्नो स्वास्थ्यको विषयलाई लिएर भैरहेको टिकाटिप्पणीप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले क्यान्सरजस्तो रोगलाई जितेर आए पनि केही सञ्चारमाध्यमले सामान्य रुघाखोकी लागेको विषयलाई बढाइचढाई गरेको आरोप लगाउनुभयो । प्रधानमन्त्री कोइरालाले संविधान जारी भएपछि आफू सत्तामा नबस्ने स्पष्ट पार्दै मुलुकको विकासमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।
यसैगरी प्रधानमन्त्री कोइरालाले निबासमै भएको अर्को भेटघाट कार्यक्रममा मुुलुकको विकासको लागि लोकतान्त्रिक शासन पद्धति,शान्ति र स्थायित्व आवश्यक भएको बताउनु भएको छ ।
सगरमाथा सरोकार समाजका पदाधिकारीहरुसंगको भेटमा कोइरालाले यस्तो बताउनु भएको हो । सभासद बलबहादुर के.सी.को नेतृत्वमा पुगेको टोलीर्ले विश्व सम्पदा सूचिमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा, सगरमाथा राष्ट्रिय निकुञ्ज र त्यस क्षेत्रका अमूल्य प्राकृतिक सम्पदा र जैविक विविधताको संरक्षण र स्थानीय बासिन्दाहरुको आर्थिक र सामाजिक विकासका लागि राज्यले गम्भीर ध्यान दिनुपर्ने माग गरेको थियो ।
ज्ञापनपत्रमा सोलुखोम्बु जिल्लाको दिगो विकासको लागि सदरमुकाम सल्लेरीदेखि चौरीखर्कसम्मको ७५ किमी सडकलाई सगरमाथा पर्यटनमार्ग नामाकरण गरी राष्ट्रिय प्राथमिकतामा पारी शीघ्र सम्पन्न गर्ने, लुक्ला विमानस्थलाई सुरक्षित बनाउने, सगरमाथाको लुक्लाभन्दा माथिल्लो भेगमा पदमार्ग संरक्षण गर्न मोटरबाटो नबनाउने, चौरीखर्क,जुबिङ्ग र ताक्सिन्दु गाविसमा प्रांगरिक खेति र पर्यटनलाई टेवा पु¥याउने बैकल्पिक व्यवसायको खोजी गर्ने लगायतका माग उल्लेख छ ।