वंशजको आधारमा नागरिकता दिने विषयमा सभासद विभाजित

चैत १२, काठमाडौँ- वंशजको आधारमा नागरिकता दिने विषयमा सभासद विभाजित देखिएका छन् । महिला, कानून र विकास मञ्चले आज काठमाडौंमा गरेको कार्यक्रममा वंशजको आधारमा नागरिकता दिने विषयमा सभासदले विभाजित धारणा राखेका छन् ।केही सभासदले वंशजको आधारमा नागरिकता दिँदा लैंगिक असमानता हुन नदिनका लागि नयाँ संविधानमा आमा र बाबुको सट्टा आमा वा बाबुको व्यवस्था गरिनुपर्ने अधिकारकर्मीको माग जायज भएको बताएका छन् भने केही सभासदले अधिकारकर्मीले र को व्यवस्था बुझ्दै नबुझि लबिङ गरेको आरोप लगाएका छन् । अधिकारकर्मीलाई साथ दिएका सभासदले नयाँ संविधानमा प्रस्ताव गरिएको आमा र बाबुको व्यवस्थालाई हुबहु पारित गरिए त्यसले महिलालाई अपमानित गर्ने बताए ।

नेकपा एमालेका सभासद कृष्णभक्त पोखरेलले महिलाको स्वाभिमान र पहिचान बढाउन तथा महिला र पुरुषबीच हुने भेदभाव हटाउन आमा र बाबुको सट्टा आमा वा बाबुको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।उहाँले अहिले प्रस्तावित व्यवस्था हुबहु पारित गरिए धेरै महिला र तिनका सन्तान नागरिकता पाउनबाट बञ्चित हुने पनि बताउनुभयो । तर नेकपा मालेका सभासद सिपी मैनालीले भने अधिकारकर्मीमाथि आमा र बाबुको प्रस्ताव गरिनुको कारण नै नबुझि लबिङमा उत्रिएको आरोप लगाउनुभयो ।उहाँले आफूहरु कोही पनि नेपाली नागरिक नागरिकता लिनबाट बञ्चित नहोउन् भन्नेतर्फ सचेत रहेको भन्दै गलत व्यक्तिले वंशजको आधारमा नागरिकता लिन नसकोस् भनेर नयाँ संविधानमा आमा र बाबुको प्रस्ताव गरिएको बताउनुभयो ।

कार्यक्रममा केही सभासदले भने आमाको नामबाट वंशजको नागरिकता दिए आमाको नामबाट नागरिकता लिने सन्तान बाबुको अंश पाउनबाट बञ्चित हुने भन्दै यसतर्फ सबैको ध्यान जानुपर्ने बताए ।अधिकारकर्मीले भने अन्तरजातीय विवाहका कारण कानूनीरुपमा श्रीमान श्रीमती भइनसकेका दम्पतिबाट जन्मिएका तथा सम्बन्ध विच्छेद, बलात्कार, आमा र बाबुको ठेगाना पत्ता नलागेका सन्तानलाई राज्यबिहिनताको अवस्थामा पुग्न नदिन आमा वा बाबुको नामबाट वंशजको आधारमा नागरिकता दिने व्यवस्था गरिनुपर्ने बताए ।नयाँ संविधानमा वंशजको आधारमा नागरिकता वितरण सम्बन्धमा नेपालमा स्थायी बसोबास भएका व्यक्तिले नेपाली नागरिकता पाउने तर निजको जन्म हुँदाका बखत निजको आमा र बाबु नेपाली नागरिक हुनुपर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।