एमालेमा थप छलफल

चैत्र १२, काठमाण्डौ— नेकपा एमालेले कार्यविभाजनमा बाँकी रहेका दुईमुख्य नेताका विषयमा आज छलफल गर्ने भएको छ । बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालको कार्यविभाजनका विषयमा थप छलफल गर्ने भएको हो । नेताहरुबीच आन्तरिक छलफल भएपछि औपचारिक बैठक बसेर टुङ्गो लगाइने भएको छ । महाधिवेशन सकिएको झण्डै नौ महिना पछि एमालेले हिजो नेताहरुको कार्यविभाजन गरेको हो । तर कार्यविभाजन सन्तुलित नभएको भन्दै माधव नेपाल समुहका नेताहरुले भने असन्तुष्टी जनाएका छन् । बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल दुबैले विदेश विभाग प्रमुख बन्ने चाहना राखेपछि उहाँहरुको हकमा निर्णय भएको छैन । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले आज नेताहरुबीच आन्तरिक सल्लाह हुने र औपचारिक बैठक बसेर टुङ्गो लगाउने बताउनुभयो । केही कार्यविभाजनमा असन्तुष्टि रहेको र त्यसलाई पनि थप छलफल गर्ने उहाँको भनाईछ ।