महाधिवेशन भएको ८ महिना पछि एमालेले गर्यो कार्य विभाजन

चैत्र १०,काठमाडौँ- नवौं महाधिवेशनबाट केपी ओलीले पार्टी अध्यक्षमा जितेको झण्डै साढे आठ महिनापछि एमाले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरुलाई कामको जिम्मेवारी तोकेको छ । महासचिव ईश्वर पोखरेलले पेश गरेको १ सय ८४ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुको कार्य विभाजन प्रस्ताव जिम्मेवारी तोक्दा आलीइपक्षमा नेतालाई महत्वपूर्ण जिम्मेवारी दिइएपछि माधव कुमार नेपाल पक्ष चिँढिने देखिएको छ ।

जसको छनक नेपाल पक्षकी नेतृको रुपमा चिनिने रामकुमारी झाँक्रीले देखाएकी छिन् । महासचिव ईश्वर पोखरेलले पेश गरेको १ सय ८४ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुको कार्य विभाजन प्रस्ताव माधव नेपाल पक्षको असहमतिका बीच मंगलवार स्थायी कमिटीले पारित गर्ने सम्भावना छ ।  महासचिव पोखरेलले पेश गरेको कार्य बिभाजन प्रस्ताव अनलाइनखबरले प्राप्त गरेको छ । जसमा पार्टीका नेताहरुलाई मुख्यतः ६ क्षेत्रका काममा खटाउने उल्लेख छ ।

कार्यविभाजनमा अध्यक्ष ओलीलाई स्कुल विभाग, झलनाथलाई नीति अनुसन्धान विभाग र माधव नेपाललाई विदेश विभागको जिम्मेवारी दिने प्रस्ताव छ । उपमहासचिव घनश्याम भुसालले रुची राखेको पार्टी स्कूल बिभागको प्रमुख अध्यक्ष ओलीलाई नै प्रस्ताव गरेर उनको सहयोगीमा देवराज घिमिरे र पछि कार्यकारी हुने गरी उपप्रमुखमा शंकर पोखरेललाई प्रस्ताव गरिएको छ ।