चैत्र १०,काठमाडौँ- संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानका अन्तर्वस्तुमा दलहरुले सहमति गर्न आनाकानी गरिरहे दुई तिहाइ बहुमतको प्रक्रियाबाट संविधान जारी गर्ने बताउनुभएको छ ।संविधानसभाका अध्यक्ष नेम्वाङले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आदर्श नागरिक समाज परिवारको ज्ञापनपत्र बुझ्ने क्रममा दलहरुले सहमति नगरेका भरमा संविधान बनाउने काम नरोकिने बताउनुभयो ।उहाँले संविधानका अन्तर्वस्तुमा दलहरुबीच खासै ठूलो विवाद नरहेकाले आफू अब दलहरुलाई सहमतिका नाममा धेरै समय दिने पक्षमा नरहेको बताउनुभयो ।
सभाध्यक्ष नेम्वाङले संविधानका विवादित विषयमा सहमति जुटाउन सत्ता पक्ष र विपक्षी दल वार्तामा नबसेकोमा असन्तुष्टि समेत जनाउनुभयो ।उहाँले संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको एक महिना नौ दिन बित्दा पनि दलहरु वार्ताप्रति गम्भीर नहुनु आपत्तिजनक भएको बताउनुभयो । उहाँले सहमति गर्न गम्भीर छौं भनेर मात्र नपुग्ने भन्दै सहमतिका लागि तत्काल औपचारिक वार्तामा बस्न सत्ता पक्ष र विपक्षी दललाई आग्रह गर्नुभयो ।सभाध्यक्ष नेम्वाङले दलहरुबीच सहमति नभए तथा संविधानसभाबाट संविधान नबने मुलुक दलको नियन्त्रणबाहिर जाने खतरा समेत औंल्याउनुभयो । उहाँले त्यो स्थिति आउन नदिनका लागि नागरिक समाजले दलहरुलाई दबाब दिनुपर्ने बताउनुभयो ।