ताप्लेजुङ आगलागीमा भएको क्षतिको विवरण संकलन शुरु

चैत्र १०,ताप्लेजुङ- ताप्लेजुङ सदरमुकाम फुङलिङमा गएरातीदेखि भएको आगलागीको क्षतिको विवरणकार्य सुरु गरिएको छ । मंगलबार विहानसम्ममा पुरै नियन्त्रणमा आइसकेको आगलागीको भएको क्षतिको यकिन विवरण आइसकेको छैन्। तीव्र वेगले हावा चलेको र पर्याप्त पानी समेत नभएकोले तत्काल आगो निभाउन नसक्दा उक्त क्षति हुन गएको प्रहरीले जनाएको छ। मंगलबार विहानदेखि क्षतिको विवरण संकलन र आगलागी पीडितको उद्धारका कामहरु शुरु गरिएको छ ।

तोक्मेवजारको एक होटलबट शुरु भएको आगो क्षणभरमै दायाँ र बायाँ दुवैतर्फ फैलिएपछि स्थानीयबासीहरुमा रुवाबासी र भागदौड मच्चिएको थियो। दमकल नभएका कारण तत्काल आगो नियन्त्रण गर्न नसक्दा आगलागीबाट ताप्लेजुङको प्रवेशद्वार तोक्मेवजारका सम्पुर्ण घर पसलहरु जलेर ध्वस्त भएका छन्। डोजर र स्काभेटर लगाएर साँझ नौ बजे आगो नियन्त्रण गरिएपनि हावा चलेका कारण आगो फैलिन थालेपछि ताप्लेजुङवासीहरु रातभर जागै बसेका थिए। सदरमुकामकै सबैभन्दा बाक्लो र प्रत्येक घरमा पसलहरु भएको तोक्मे क्षेत्रमा भएको आगलागीबाट करोडौं रुपैंयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।