लागुऔषध वितरण गर्ने अहेब पक्राउ

चैत ९, सिरहा-लागुऔषध बिक्री वितरण गर्ने एक स्वास्थ्यकर्मी सिरहामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी खड्गपुर–५ घर भई हाल सिरहाको सिक्रोन उपस्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब अनरुद सेठ रहेका छन् । सेठले सञ्चालन गरेको औषधि पसल र डेराबाट लागुऔषध फेला परेपछि आइतबार उहाँलाई पक्राउ गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार सेठको औषधि पसल र डेराबाट लागुऔषध फोर्टवीन–२५१ एम्पुल, नाइट्रोसन ५० ट्याबलेट, डाइजेल्याप १८ एम्पुल, फेनारगन १९ एम्पुल र नुफिन २२ एम्पुल बरामद भएको छ ।