मोर्चाले थाल्यो दोश्रो चरणको आन्दोलन

चैत ८, काठमाडौँ -एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्दैछ । सहमतिबाट संविधान बनाउनुपर्ने मागसहित दोस्रो चरणको आन्दोलन घोषणा गरेको मोर्चाले आज देशभर विरोध प्रदर्शन गर्न लागेको हो । मोर्चाले सहमतिमा सविधान, महिला हिंसा, महँगी, कालोबजारी, भ्रष्टाचारलगायतको विषयमा आपूmहरुको विरोध केन्द्रित गर्ने जनाएको छ ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमालेले सुरु गरेको बहुमतीय प्रक्रिया खारेज गर्नुपर्ने र विगतका सहमति, सम्झौता, अन्तरिम संविधानमा भएको व्यवस्थाअनुरुप सहमतिबाट संविधान जारी गर्नुपर्ने माग गरिरहेको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले गत माघ ११ गते घोषणा गरेको प्रश्नावली प्रस्ताव समितिका कारण दलहरुबीच बढेको दुरी अभैm कम हुन सकेको छैन ।

सभाध्यक्षले यही चैत ११ गतेभित्र दलहरुबीच सार्थक वार्ता नभए प्रक्रिया सुरु गर्ने चेतावनी दिइरहनु भएको छ । सत्तारुढ कांग्रेस, एमालेले पनि विपक्षीसँग वार्ताको पहल नगरी सभाध्यक्षलाई प्रक्रिया सुरु गर्न दबाब दिइरहेका छन् । विपक्षी दलहरुले भने पहिलाका समझदारी र सम्झौताको अनुरुप संविधान जारी गर्न सत्तारुढ तयार नभए संविधानसभा त्याग्नेसम्मको चेतावनी दिँदै आएका छन् ।