चैत्र ८, काठमाण्डौ—बिपी चिन्तन प्रतिष्ठान र बिपी मेमोरियल हेल्थ फाउन्डेसनको संयुक्त सहकार्यमा मेची–महाकाली निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत आजदेखि दोस्रो चरणको स्वास्थ्य शिविर आयोजना हुँदै छ ।
चैत ८ गते नवलपरासीको बर्दघाट, चैत ९ गते कपिलवस्तुका जितपुर, चैत १० गते अर्घाखाँची ठूलोपोखरा र चैत ११ गते गुल्मीको रिडीमा शिविर आयोजना गर्न लागिएको कार्यक्रमका सहसंयोजक ध्रवबहादुर पाण्डेले जानकारी दिनुभयो । नेपाल चिकित्सक सङ्घका महासचिव डा मुक्तिराम श्रेष्ठ, सङ्घका पूर्व अध्यक्ष प्रा डा चोपलाल भुसाल, फाउन्डेसनका अध्यक्ष प्रा डा दिनेशविनोद पोखरेल र युनिभर्सल मेडिकल कलेज भैरहवाका चिकित्सकहरुले ती शिविरमा विशेषज्ञ सेवा प्रदान गर्नु हुनेछ । शिविरमा भिडियो एक्सरे, एक्सरे गर्नुका साथै खकार, रगत, दिसापिसाबको परीक्षण गरिने बताइएको छ ।
नजिकको स्वास्थ्य संस्थामा सेवा लिन पनि जान नसक्ने अति विपन्न जनतालाई घरदैलोमा नै विशेषज्ञ स्वास्थ्य शिविर राखी सेवा गर्ने द्येयले लौहपुरुष गणेशमान सिंहको जन्मशाब्दीका अवसरमा प्रतिष्ठानले फागुन २५ गतेदेखि झापाको गौरादबाट मेची–महाकाली स्वास्थ्य शिविरको सुरुवात गरेको थियो ।