चैत ७, काठमाडौँ-संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन सक्ने दलहरु किन सहमतिमा आउन नसकेको भनेर प्रश्न उठाएका छन् । दलहरुले साँच्चिकै शान्ति र संविधान चाहेको भए ११ गतेसम्म परिणाम निस्कने गरी सार्थक संवाद गर्न शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा नेम्वाङले प्रमुख राजनीतिक दलबीच सहमतिको बातावरण बन्न नसक्दा अनिश्चितता बढ्दै गैरहेको र यो संकेतले मुलुकलाई गम्भिर दुर्घटनातर्फ डोराइरहेको भन्दै उनले सजग समेत गराएका छन् । ३७ दिनदेखि सहमतिका लागि स्थगित संविधानसभाको बैठक लामो समयसम्म लम्ब्याइरहनु औचित्यपूर्ण नहुने नेम्वाङले बताए ।