संवैधानिक पदाधिकारीको सुनुवाई चैत ४ गतेदेखि

चैत २, काठमाडौं-  सरकारले हालै दुई संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेका पदाधिकारीको सुनुवाई बुधबारदेखि गर्ने भएको छ । व्यवस्थापिका–संसद अन्तर्गतको संसदीय सुनवाई विशेष समितिको आज बसेको बैठकले लोकसेवा आयोगमा सिफारिस गरिएका अध्यक्ष र सदस्य विरुद्ध उजुरीको सुनवाई पर्सी गर्ने निर्णय गरेको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरुविरुद्ध परेका उजुरीको सुनवाई चैत ८ गते गर्ने निर्णय भएको समितिका सभापति कुलबहादुर गुरुङले बताए ।

सरकारले केही दिनअघि लोकसेवा आयोगको अध्यक्षमा उमेशप्रसाद मैनाली र सदस्यमा बिन्दा हाडा, गोविन्दप्रसाद कुसुम, श्रीपुरुष ढकाल, अशोककुमार झा, ब्रम्हदेव राय, कृष्णचन्द्र झालाई नियुक्तिका लागि सिफारिस गरेको थियो भने आयोगका आयुक्तमा दीप बस्न्यात, नवीनकुमार घिमिरे, गणेशराज जोशी, राजनारायण पाठक र डा सावित्री गुरुङलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।