चितवनमा स्वाइन फ्लु संक्रमित हुनेको संख्या २७ पुग्यो

फागुन २९, चितवन-चितवनमा स्वाईन फ्लु संक्रमित हुनेको संख्या २७ पुगेको छ । दुई दिनअघि दश जनामा सीमित स्वाइन फ्लु बढेर २७ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेटर कन्ट्रोेल निरीक्षक राम केसीले जानकारी दिए ।शंकास्पद बिरामीको रिपोर्ट आएसँगै २७ जनामा स्वाइन फ्लु भएको पुष्टि उनले बताए । हालसम्म काठमाडौंमा पिसिआर परीक्षण गराइएका १ सय ६२ जनामा २७ बिरामीमा स्वाईन फ्लु अर्थात ईन्फ्लुएन्जा एचवान एनवानको संक्रमण देखिएको हो ।

गत सोमबारको रिपोर्टसम्म जम्मा दश जनामा मात्र भेटिएको स्वाईन फ्लु संक्रमण तीन दिनको बीचमा थप १७ जना बढेर कुल २७ जनामा फैलिएको केसीले जानकारी दिए । संक्रमित हुनेहरु अधिकांश महिला रहेका छन् ।जिल्लामा एकमात्र स्वाईन फ्लुको प्रारम्भिक परिक्षण हुने भरतपुर अस्पतालमा पनि स्वाइन फ्लु जँचाउने बिरामीको चाप बढ्दो रहेका चिकित्सक डा। भोजराज अधिकारीले बताए । भरतपुर अस्पतालमा आइसोलेसन वार्डसमेत व्यवस्था गरेर विरामीको उपचार भैरहेको छ ।

जनस्वास्थ्य कार्यालय चितवनले भिडभाडमा नहिँड्न, हात नमिलाउन, संक्रमित भएको आशंका भए छुट्टै बस्न र बाहिर हिँड्दा मास्क लगाएर हिँड्न सर्वसाधारणलाई अपिल गरेको छ ।महिला, वृद्धवृद्धा र बालबालिकामा स्वाइन फ्लुको जोखिम बढी रहने भएकाले सतर्क रहन पनि अपिल गरिएको छ । रुघाखोकी लाग्ने, ज्यान दुख्ने, थकाई लाग्ने लगायतका लक्षण भए तुरुन्त अस्पताल गएर परिक्षण गर्न कार्यालयले सबैमा आग्रह गरेको छ । साथै भरतपुर अस्पतालमा विहिवारबाट हेल्थ डेक्स स्थापना गरिएको छ । विहान ९ बजेदेखि साँझ ४ बजेसम्मका लागि स्थापना गरिएको भरतपुर अस्पतालले जनाएको छ ।