चिनिया लगानीकर्ता थप लगानी गर्ने उदेश्यसहित आज नेपाल आउने

फागुन २९,काठमाडौँ-पचास अर्बको लागतमा बन्न लागेको पश्चिम सेती जलविद्युत् आयोजनाको प्रमुख लगानीकर्ता चिनियाँ कम्पनी थ्री गर्जेजका उच्च अधिकारी आज नेपाल आउँदैछन् । कुल ७ सय ५० मेगावाट क्षमताको आयोजनामा लगानी बोर्डले लगानी गर्न आग्रह गरेपछि चिनीयाँ टोली लगानी गर्ने मनोकांक्षासहित नेपाल आउन लागेको हो । बोर्डकाअनुसार नेपाल भ्रमणमा थ्री गर्जेजका बोर्ड अध्यक्ष वाङ लिन र अर्का उपाध्यक्ष बी यासियोङ नेपाल आउने छन् । लगानीका लागि थ्री गर्जेजले लगानी स्वीकृतिका लागि बोर्डमा निवेदन दिइसकेको छ । बोर्डका प्रवक्ता घनश्याम ओझाका अनुसार लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत् आयोजनाको काम अब अगाडि बढ्ने भएको छ । लगानीको ७५ प्रतिशत चिनियाँ कम्पनी थ्री गर्जेजले ब्यहोर्नेछ भने २५ प्रतिशत रकम नेपाल सरकारले लगानी गर्नेछ । चिनियाँ टोलीले प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री रामशरण महत, ऊर्जामन्त्री राधा ज्ञवाली र बोर्डका कार्यकारी अधिकृत राधेश पन्तसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।