बालीका बलात्कारीलाई कडा सजायको माग गर्दै आज पनि प्रदर्शन जारी

फागुन २९,काठमाडौँ-बलात्कार घटनाका दोषीलाई कडा सजायको माग गर्दै विद्यार्थी संगठन र सरोकारवालाहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । एकीकृत माओवादी निकट अखिल क्रान्तिकारी सम्बद्ध विद्यार्थी र स्थानीयले अहिले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । बानेश्वर क्याम्पसबाट निस्किएको ¥याली तथा प्रदर्शन तिनकुने परिक्रमा गरेर पुनः बानेश्वरमा आएर टुंगिने अखिल क्रान्तिकारीका संयोजक रमेश मल्लले बताउनुभयो ।
यसैबीच, क्रान्तिकारीले आज सभामुख सुवास नेम्वाङलाई बालिका बलात्कारीलाई सजायको माग गर्दै ज्ञापनपत्र बुझाउँदैछ । दिउँसोसम्म ज्ञापन पत्र बुझाउने तयारी भैरहेको संयोजक मल्लले बताउनुभयो । उहाँका अनुसार उपत्यकाबाहेक देशभरका जिल्ला प्रशासन कार्यालयमा पनि प्रदर्शनसहित ज्ञापन पत्र बुझाउने कार्यक्रम छ । क्रान्तिकारी, महिला अधिकारकर्मीहरुले बलात्कारीलाई मृत्यदण्डसम्मको कारबाहीका लागि कानुन बनाउन सरकारलाई दबाब दिइरहेका छन् । बाराकी बालिका पूजा साहको बलात्कारपछि मृत्यु भएको, बिभिन्न जिल्लामा बलात्कारका घटना नरोकिएको, काठमाडौंमा दुई किशोरीमाथि एसिड आक्रमण भएको विरोधमा अखिल क्रान्तिकारी लगायत बिभिन्न संघ संगठन आन्दोलनमा छन् ।