काठमाडौं – शनिबार पत्रकार रवीन्द्र मिश्रको कविता संग्रह विमोचनमा निम्तालु र शुभचिन्तकले प्रज्ञा प्रतिष्ठानको डबली भरिएको थियो । मञ्चमा रहेका मिश्रले सुरुमा आफ्ना केही कुरा राखे र केही कविता सुनाए । त्यसपछि कविता संग्रह विमोचनको बेला भयो ।
मिश्रले सोधे ‘यस कार्यक्रममा महिला सहभागीता ३३ प्रतिशत पनि देखिएन, तपाइँहरुमध्ये कवितामा रुची नै नहुने को को हुनुहुन्छ हात उठाउनुस् त !’ भीडबाट दुई जनाले हात उठाए । मिश्रले उनीहरुलाई मञ्चमा बोलाए । विमोचनका लागि र्यापरले बेरिएको पुस्तक बाहेक अरु खुला दुईवटा पुस्तक मागे । मञ्चमा पुगेका महिलाहरुको नाम सोधे र कितावमा लेखिदिए ‘तपाइँको जीवन कवितामय बनोस् ।’
अनि उनीहरुकै हातबाट कविता विमोचन गराए । उनले संसारभरि नै कविता कम पढिने विधा भएको भन्दै सरल भाषामा नहुँदा यसका पाठक धेरै नभएको बताए । उनले मोहन कोइरालाले लेखेका फर्सीको जरा कविताको प्रसंग निकाल्दै भने त्यो कविता त मैले पनि बुझिन । उनले आफुले सकेसम्म बुझ्ने भाषामा कविता लेखेको पनि बताए ।
प्रज्ञा प्रतिष्ठानको डबलीभरि भेला भएका शुभचिन्तक र निम्तालुहरुको अगाडि उनले ११ वटा कविता पनि सुनाए । सुरुमा आफ्नी आमाको बारेमा लेखिएको कविताबाट सुरु गरेका उनले पत्नी, विदेशमा रहेका नेपाली, ईश्वर, मृत्यु, यसरी पढ्नुपर्छ कविता, नेपालमा विगतमा भएका द्वन्द्वबारेको कविता, छोराछोरीलाई, कान्दाका चेपाङ काठमाडौं र पाप शीर्षकको कविता सुनाए ।
‘अरु बेला कविता सुनिदिने कोही हुँदैनन्, आज तपाईहरु यति धेरै भएको मौकामा सुनाउन मन लाग्यो’ मिश्रले भने । मिश्रले पुस्तकबाट प्राप्त रोयल्टी चितवनको कान्दाका चेपाङ समुदायलाई हस्तान्तरण गर्ने पनि बताए । कार्यक्रममा उनका कवितामाथि सनत वस्ती र वुद्धिसागरले टिप्पणी गरेका थिए ।