वार्ता नै समस्याको अन्ति अस्त्र – प्रधानमन्त्री कोइराला

फागुन १६, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइरालाले वार्ताद्वारा नै संविधान निर्माणलगायत मुलुकका सामु रहेका सबै राजनीतिक समस्याको समाधान हुने बताएका छन् । प्रधानमन्त्री कोइरालाले सो कुरा आज बिहान नेपालगन्जको अन्तराल समूहद्वारा आयोजित बिपीको ऐतिहासिक फोटो प्रदर्शनी यात्राको प्रधानमन्त्री निवास बालुवाटारमा शुभारम्भ गर्दै यस्तो बताएका हुन।

‘वार्तामा बसौँ, छलफल गरौँ,’ प्रधानमन्त्री कोइरालाले संविधान निर्माणबारे अत्यन्त विश्वासका साथ भने “छलफलद्वारा नै समस्याको निदान र समाधान निस्कन्छ ।” सो अवसरमा प्रधानमन्त्री कोइरालाले राजनीतिक दलहरुका बीचमा वार्ता भइरहेको पनि बताए । प्रधानमन्त्री कोइरालाले भने, “हामी मुलुकमा संविधान दिने तयारीमा छौँ । संविधान निर्माणसँगै हामी मुुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्रको संस्थागत विकास र आर्थिक विकासमा लागेका छौँ ।”

कार्यक्रममा प्रधानमन्त्री कोइरालाले जननायक बिपी कोइरालाले प्रतिपादित गरे राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नीति सर्वकालीक रहेको पनि उल्लेख गरे । कोइरालाले जननायक बिपीको सङ्घर्षमय जीवन नेपाली काँग्रेसका कार्यकर्तासहित समस्त राजनीतिकर्मीका लागि पनि प्रेरणादायी रहेको बताए ।
कोइरालाले भारतीय स्वतन्त्रता सङ्ग्राममा भाग लिएर भारतमा समेत जेलनेल भोग्नुभएका जननायक बिपी कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापना र विकासको नेतृत्व गर्दा जेलनेल र प्रवासको सजाय भोग्नुपरेको घटना पनि स्मरण गरे ।

प्रधानमन्त्री कोइरालाले नेपाली काँग्रेसले उहाँको दूरदर्शी नीति र कार्यक्रमलाई नै अबलम्वन गर्दै आएको पनि बताए । “हामी सफल भएका छौँ । प्रजातन्त्रका मूल्यमान्यता र आदर्शका लागि बलिदान दिएका छाँै”, कोइरालाले भने “नेपाली काँग्रेसका नेता कार्यकर्ताले सहादत दिएका छन् । त्यसैले हाम्रो टाउको कहिल्यै निहुरिएको छैन ।”प्रधानमन्त्रीले जननायक बिपी कोइरालाको सरकारले १८ महिनाको छोटो कार्यावधिमा गरेको क्रान्तिकारी कामको अहिले सबैले सराहना गरेको पनि बताए ।