फागुन १६, काठमाडौँ –विपक्षी ३० दलीय मोर्चाले आज राजधानीमा गर्न लागेको शक्ति प्रदर्शनका क्रममा तीनकुनेबाट निस्किएको शान्तिपूर्ण जुलुस नयाँ बानेश्वरको सिभिल हस्पिटल पुग्दा प्रहरीले रोक्न खोजेपछि झडप भएको छ । जुलस सहित खुलामञ्चतिर लागेका विपक्षी दलका कार्यकर्तालाई प्रहरीले निषेधित क्षेत्रभन्दै रोकेपछि झडप भएको हो । प्रहरी घेरा तोड्दै आन्दोलनकारीहरु अगाडि बढ्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीले लाठी चार्ज सुरु गरेपछि आन्दोलनकारीहरुले ढुंगामुडा सुरु गरेका थिए ।
आन्दोलनकारीले ढुंगामुडा गरेपछि प्रहरी त्यहाँबाट भागेका थिए । त्यस्पछि अघि बढेको आन्दोलनकारीहरुमाथि प्रहरीले दर्जनौं अश्रुग्याँसका सेल प्रहार गरेका थिए । झडपमा आन्दोलनकारीको ढुंगा लागेर ४ जना प्रहरी घाइते भएका छन् भने प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी आन्दोलनकारी घाइते बनेका छन् । यतिबेला बानेश्वरको स्थिति तनावग्रस्त रहेको छ ।