फागुन १५,काठमाडौँ -उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले सबै जनताको अधिकार सुनिश्चित गरी सहमतिकै आधारमा जतिसक्दो चाँडो संविधान जारी हुने विश्वास व्यक्त गरेका छन् । तेत्तीसौँ मगर एकता स्थापना दिवस तथा ४३ औँँ चिन्डीके डुप्के–२०७१ एवम् प्रथम अन्तर्राष्ट्रिय मगर सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले सबै जातजाति र समुदायको सबै अधिकारभन्दा पनि सबैका केही अधिकार सुनिश्चित गरी सकेसम्म सहमतिबाटै अबको चार महिनाभित्रमा संविधान जारी गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उपप्रधानमन्त्री गौतमले जातीय आधारमा राज्य पुनःसंरचना गर्दा सद्भाव खलबलिने हुँदा सबैलाई मान्य हुने सबैको पहिचान झल्कने र सबैले स्वामित्व लिन पाउने गरी पुनःसंरचना गरिनुपर्ने समेत बताए । जातीय, भाषिक, क्षेत्रीय वा धार्मिक आधारमा मुलुकलाई विभाजन गर्नुभन्दा सबै मिलेर मुलुक निर्माणको बाटोमा लाग्नुपर्ने उनको भनाइ थियो । तीन दिनसम्म चल्ने सो सम्मेलनमा मगर समुदायले उत्पादन गरेका विभिन्न सामग्री, मगर समुदायको खानपान, व्यापारिक स्टल, मगरसम्बन्धी वृत्तचित्र प्रदर्शन, नृत्य, दोहोरी गीत प्रतियोगिता तथा चिरपरिचित कलाकारहरुको विशेष प्रस्तुति रहनेछ ।