सिमरा अपडेट प्रहरीद्धारा सञ्चारगृहमा आक्रमण

फागुन ११,सिमरा – सिमरामा जारी आन्दोलनका क्रममा प्रहरीले सञ्चारगृहमाथी आक्रमण गरेको छ । बाराको सिमरास्थित सामुदायिक रेडियो रेडियो नागरिकको स्टेशनमा प्रवेश गरी शसस्त्र प्रहरी र नेपाल प्रहरीले रेडियो तोडफोड गरेको हो ।आज बिहान साढे ९ बजे सिमरास्थित रेडियो नागरिक ९०।८ मेगाहर्ज भित्र प्रवेश गरेर प्रहरीले रेडियोको बोर्ड, कम्प्युटर, टेलिफोन, स्याटेलाईट रिसीभर, बाहिर रहेको वुफर र सिसा तोडफोड गरेको छ ।तोडफोडबाट दुईलाख भन्दा बढिको क्षति पुगेको रेडियोका स्टेशन प्रमुख सुनील गाउँलेले जानकारी दिनुभयो । ताला लगाएर राखेका कारण रेडियोको ट्रान्समिटरमा भने कुनै क्षति नपुगेको गाउँलेले जानकारी दिनुभयो । कन्ट्रोल रुममा समेत प्रवेश गरेका प्रहरीले रेडियोको मिक्सचर समेत उठाउने प्रयास गरेका थिए ।प्रहरीलाई रेडियो तोडफोड नगर्न आग्रह गर्दा रेडियोका कार्यकारी निर्देशक बसन्त शर्मामाथी समेत प्रहरीले हातपात गरेका छन् । प्रहरीको कुटपीटबाट शर्माको हातमा चोट लागेको छ ।सिमरा बजार नजिकै रहेको रेडियोमा प्रदर्शनकारी लुकेको भन्दै प्रहरी प्रवेश गरेका थिए । आन्दोलनमा सम्बद्ध कोही पनि रेडियो भित्र नरहेको स्टेशन प्रमुख गाउँलेले जानकारी दिएका थिए ।सञ्चारगृहमाथी भएको तोडफोडको भत्र्सना गर्दै घटनाको विभिन्न संघ संस्थाले भर्त्सना गर्दै दोषी प्रहरीलाई कार्बाही गरी क्षतीपुर्तीको माग गरेका छन् । नेपाल पत्रकार महासंघ बारा, प्रेस युनीयन बारा, प्रेस चौतारी बारा, मेची महाकाली मिडीया सोसाईटी बारा लगायतका संस्थाले विज्ञप्ती जारी गरी घटनाको निन्दा गरेका छन् ।

यसअघि प्रदर्शनकारीले स्थानीय प्रशासनले जारी गरेको निषेधित क्षेत्रमा प्रवेश गरेपछि झडप भएको हो ।प्रदर्शनलाई नियत्रन्ण गर्न प्रहरीले दुई दर्जनभन्दा बढी सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले सिमराको गल्लीमा पसेर अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीहरु घरको भित्तामा लुकेर प्रहरीलाई लक्षित गर्दै ढुंगा प्रहार गरेका छन् ।झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।सेवाकेन्द्र विस्तारको विवादले दिनहुँ प्रदर्शन र झडप हुन थालेपछि स्थानीय प्रशासनले बाराको सिमरा आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।पूर्वपश्चिम राजमार्गको धनसार खोला पुलदेखि पथलैया हुँदै निषेधित क्षेत्र तोकिएको छ ।यसैगरी त्रिभुवन राजपथको पथलैयादेखि ज्योति फारामसम्मको सडकखण्डको दायाँबायाँ दुई सय मिटर क्षेत्रमा पनि जुलस, भीड वा पाँच जना भन्दा धेरैलाई एकैठाउँमा जम्मा हुन रोक लगाइएको छ ।