माथिल्लो तामाकोसी आयोजनालाई डलर भुक्तानीमा समस्या

फागुन १०, चरीकोट- माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई विदेशी मुद्रा डलरमा भुक्तानीमा समस्या आएको छ । लामाबगरको गोंगरमा निर्माणाधीन आयोजनाले विदेशी कम्पनीलाई विदेशी मुद्रा डलरमा भुक्तानी गर्नुपर्ने भएकाले समस्या आएको जनाएको हो । विदेशी मुद्रा भुक्तानीका लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिन १० देखि १५ दिनसम्म लाग्ने बताउँदै समस्या समाधान गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिएको आयोजनाको मासिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजनाको मुख्य ठेकेदार विदेशी भएकाले उनीहरूले बोलपत्र पेस गर्दा ७५ प्रतिशत विदेशी र २५ प्रतिशत नेपाली मुद्रामा भुक्तानी लिने अवस्थामा सम्झौता भएबमोजिम भुक्तानी दिनुपर्ने आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताए । आयोजनाको मुख्य चारवटा चरणका विदेशी ठेकेदार र निर्माण सुपरीभेक्षणसँगको खरिद सम्झौताअनुसार विदेशी मुद्रामा पनि भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ ।