फागुन १०,काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको भावि कार्य योजना तथा विपक्षी मार्चासँगको वार्ता सम्बन्धी छलफल हुने भएको छ । आगामी भदौ २४ देखि २८ गतेसम्म काठमाण्डौमा केन्द्रीय महाधिवेशन तए गरेको काग्रेसले यस सम्बन्धी पनि थप छलफल गर्ने पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनु भएको छ । महाधिवेशनका लागि नगर क्षेत्र हुँदै जिल्लाको अधिवेशनका लागि पनि मिति तय गरेको छ । कार्यतालिका अनुसार २०७२ साल साउन १४ गते नगर वडा, गाउँ र नगर अधिवेशन गर्ने, साउन २२ गते क्षेत्रीय अधिवेशन गर्ने र साउन २६ गते जिल्ला अधिवेशन गर्ने तय गरिएको छ ।
क्रियाशील सदस्यता छानबिनका लागि नरहरि आचार्यको संयोजकत्वमा रमेश लेखक र रामकृष्ण यादव रहनुभएको समिति गठन गरेको छ । उक्त समितिले २०७२ साल वैशाख मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा देखिएका सम्पूर्ण विवाद टुङ्ग्याई केन्द्रीय कार्यसमितिमा पेस गर्नुपर्ने पार्टीले जनाएको छ । जसका लागि नयाँ क्रियाशील सदस्यता फारम र नवीकरण फारम २०७१ साल फागुन मसान्तभित्र केन्द्रीय कार्यालयमा आई सक्नुपर्ने, केन्द्रीय परिपत्र बमोजिम प्रक्रिया पूरा नभएका क्रियाशील सदस्यता आवेदन फारमले मान्यता नपाउने, २०७१ फागुन मसान्तभित्र शुल्कसहित क्रियाशील सदस्यता (नयाँ र नवीकरण) आवेदन फारम केन्द्रमा नबुझाउने जिल्लाले महाधिवेशनमा भाग लिन नपाउने पार्टीले जनाएको छ ।